
झापा— झापाको कनकाई नगरपालिका–४ तल्लो चाप्रामारीमा सोमबार बिहान लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार सोमबार बिहान करिब पौने ९ बजे उक्त घटना भएको हो। प्रहरीलाई शरणामतीबाट सुरूङ्गातर्फ लागुऔषध बोकिएको मोटरसाइकल आउँदैछ भन्ने विशेष सूचना प्राप्त भएपछि टोली परिचालन गरिएको थियो।

प्रहरीले रोक्न खोजेको बिआर ३७ टी ९१९८ नम्बरको भारतीय मोटरसाइकललाई जाँच गर्ने क्रममा चालकले मोटरसाइकल र साथमा रहेको झोला फालेर मकैबारीतर्फ भागेको डीएसपी खड्काले जानकारी दिनुभयो।
“प्रहरीलाई देख्नेबित्तिकै उक्त व्यक्ति मोटरसाइकल र झोला फालेर मकैघारीभित्र पसेर भागेको थियो,” उहाँले भन्नुभयो, “त्यही क्रममा प्रहरी टोलीले नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गर्नुपर्यो।”
घटनास्थलमा फालिएको झोलाको तलासी गर्दा प्रहरीले झण्डै २०४.०८० ग्राम बराबरको ब्राउन सुगर बरामद गरेको छ।
हाल फरार रहेको ती लागुऔषध कारोबारीको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ। यस्तै, मोटरसाइकलको विवरणका आधारमा सो कारोबारमा संलग्न व्यक्तिहरूको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले लागुऔषध कारोबारविरुद्ध शून्य सहनशीलता अपनाउँदै आएका छन्। झापा जिल्ला विशेष रूपमा भारतसँगको सीमा क्षेत्र भएकाले यहाँ लागुऔषध तस्करीका घटना दोहोरिरहने गरेका छन्।
सुरक्षा संवेदनशीलताका कारण सीमावर्ती क्षेत्रमा प्रहरीले निगरानी बढाउँदै आएको र लागुऔषध जस्ता सामाजिक अपराध नियन्त्रण गर्न नियमित गस्ती तथा विशेष अभियान सञ्चालन गरिरहेको जानकारी जिल्ला प्रहरी कार्यालय झापाले दिएको छ।



