
काठमाण्डौं — बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिकाबाट प्रहरीले २२५ किलो लागुऔषध गाँजा लोड गरिएको ट्याक्टरसहित ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ट्याक्टर चालकसहित तीन जना गाँजा तस्कर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार पक्राउ पर्नेमा ट्याक्टर चालक आदर्शकोतवाल–३ बाँतरा बस्ने ३० वर्षीय नन्दकिशोर मुखिया बिन, हेटौंडा नगरपालिका–४ बस्ने २१ वर्षीय कमाण प्रजा, मकवानपुरको कैलाश गाउँपालिका–४ देवतिसका २४ वर्षीय सिताराम प्रजा, र मकवानपुरकै बकैया गाउँपालिका–५ छतिवन बस्ने २२ वर्षीय नवराज मगर रहेका छन्।

प्रहरीले प्राप्त गुप्त सूचनाका आधारमा आदर्शकोतवाल–३ बाँतराको एक गाउँ नजिकै खेतमा पार्किङ गरी राखिएको प्र.२-०३-००१ त ४८७६ नम्बरको ट्याक्टरमा चेकजाँच गरेको थियो। ट्याक्टरको ढालामुनि फल्स बटन बनाई प्लास्टिकमा बेरिएको गाँजा लुकाइएको अवस्थामा फेला परेको हो।
शुक्रवार साँझ इलाका प्रहरी कार्यालय बारागढीबाट इन्स्पेक्टर कुसुम नायकको कमान्डमा खटिएको प्रहरी टोलीले उक्त ट्याक्टरबाट १५ वटा काटुनमा राखिएको २२५ किलो गाँजा बरामद गरेको थियो। प्रारम्भिक सोधपुछका क्रममा चालक नन्दकिशोरको बयानपछि अन्य तीन जनाको संलग्नता खुलेपछि प्रहरीले कोल्हवी बजारस्थित रोज उड होटलको कोठा नम्बर ३०३ मा छापा मारी तिनीहरूलाई नियन्त्रणमा लिएको थियो।
हाल चारै जना जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा छन् र थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङको निर्देशनमा सञ्चालित लागुऔषध कारोबार नियन्त्रण अभियान प्रभावकारी रुपमा अघि बढिरहेको जनाइएको छ।



