
काठमाडौं — नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुञ्जाङ छोपेल शेर्पाले आफ्नो साहसिक यात्रामा अर्को कीर्तिमान थप्दै लोबुचे हिमालको सफलतापूर्वक आरोहण गरेकी छन्।
सगरमाथा आरोहणको तयारीमा रहेकी शेर्पाले प्रारम्भिक चरणको रूपमा लोबुचे हिमाल (६,११९ मिटर) सफलतापूर्वक आरोहण गरेकी हुन्। उनको यस उपलब्धिप्रति नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापा तथा सम्पूर्ण प्रहरी परिवारले बधाई दिएका छन्। साथै, उनले चढ्न लागेको सगरमाथाको सफल आरोहणका लागि शुभकामना समेत व्यक्त गरिएको छ।

कुञ्जाङ शेर्पा हाल नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोमा कार्यरत छिन्। चैत २५ गते प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रमबीच आईजीपी थापाले उनलाई लैंगिक हिंसाविरुद्धको सन्देशसहितको ब्यानर हस्तान्तरण गर्दै बिदाइ गरेका थिए।

उनको साहस, समर्पण र उद्देश्यप्रति सम्मान प्रकट गर्दै प्रहरी संगठनले विश्वास व्यक्त गरेको छ कि उनी सगरमाथा शिखरमा पनि नेपाल प्रहरीको गौरव बढाउनेछिन्।




