
सुरक्षा सरोकार / काठमाण्डौं— कपिलवस्तु वाणगंगा नगरपालिका–४, दरखास्तस्थित सार्वजनिक प्रतिक्षालय नजिक १०२.८० ग्राम लागुऔषध (ब्राउन सुगर)सहित दुई युवक पक्राउ परेका छन्।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय वाणगंगाबाट प्रहरी निरीक्षक लोकेन्द्र जि.सी.को नेतृत्वमा खटिएको टोलीले राति करिब १०:४० बजेको समयमा सार्वजनिक प्रतिक्षालय नजिकैको बेञ्चमा बसेका दुई व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका युवाहरुमा बर्दिया जिल्ला गुलरिया नगरपालिका–७ का ३० वर्षीय विशाल गुप्ता र भारतको उत्तर प्रदेश, बहराइच जिल्लाका ३२ वर्षीय अमित पोरवाल रहेका छन्।
उनीहरू बसेको काठको बेञ्चमा राखिएको कालो प्लास्टिकको पोका चेकजाँच गर्दा, सेतो प्लास्टिकभित्र दुई वटा फरक पोका फेला परेको र दुवैमा ब्राउन सुगर जस्तो देखिने लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। ती दुबै पोकाको संयुक्त तौल १०२ ग्राम ८० मिलिग्राम रहेको छ।
पक्राउ परेकासँगै प्रयोग गरिएको भे १२ प १७८७ नम्बरको मोटरसाइकल, दुई थान मोबाइल र बरामद लागुऔषधसहित थप अनुसन्धानका लागि कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद लिइएको प्रहरीले जानकारी दिएको छ।
यस घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।



