
सुरक्षा सरोकार / काठमाडौं — इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) दिवस कुँवरलाई कोशी प्रदेश प्रहरी कार्यालयले २०७९ चैत महिनाको ‘उत्कृष्ट प्रहरी’ (Police of the Month) घोषणा गर्दै सम्मान प्रदान गरेको छ। प्रदेश प्रहरी प्रमुख डिआईजी राजन अधिकारीले उनलाई प्रशंसा पत्रसहित सम्मान गरेका हुन्।
प्रहरी संगठनमा इमान्दारिता, लगनशीलता र निष्ठाको उत्कृष्ट मिसाल बनेका कुँवरले हालै धरानको जंगलमा फेला परेको एक महिलाको रहस्यमय हत्या काण्डको अनुसन्धानमा निर्णायक भूमिका निर्वाह गरेका थिए। सुरुवाती चरणमा कुनै पत्तो नलाग्ने अवस्थामा रहे पनि सुनियोजित अनुसन्धानको माध्यमबाट उनले दोषीलाई कानुनी दायरामा ल्याउन सफल भएका थिए।

कडा मेहनत र निरन्तर प्रयासको प्रतीक — २०७१ सालमा प्रहरी सहायक निरीक्षक (ASI) पदबाट सेवामा प्रवेश गरेका दिवस कुँवरले करिअरको प्रारम्भिक चरणमै आफूले ठूलो फड्को मार्न नसकेको महसुस गरे। तालिमका सहपाठीहरू निरीक्षक भइसकेको देख्दा उनले आत्ममूल्यांकन गरे र त्यसै दिनबाट प्रहरी निरीक्षक बन्ने दृढ संकल्प लिए।
लगातार तीनपल्ट असफल प्रयासपछि उनले २०७७ सालमा अन्ततः प्रहरी निरीक्षक पदमा सफलता हासिल गरे। त्यसयता उनले अनुसन्धान, अपराध नियन्त्रण, र जनविश्वास निर्माणमा उल्लेखनीय योगदान दिँदै आएका छन्।
उनको कार्यशैली, अनुसन्धान क्षमताको प्रशंसा गर्दै कोशी प्रदेशका १४ जिल्लामध्येबाट उनलाई ‘सर्वोत्कृष्ट प्रहरी’ को रूपमा चयन गरिएको हो।
कुँवरको भनाइमा प्रेरणा — “आफ्नो कामप्रति इमान्दार भइ मेहनत गरे कुनै पनि लक्ष्य असम्भव हुँदैन,” प्रहरी निरीक्षक कुँवर भन्छन्। उनले यो सम्मानलाई थप उत्तरदायित्व र प्रेरणाको रूपमा लिँदै, आगामी दिनहरूमा पनि निष्पक्ष अनुसन्धान र जनतामैत्री सेवामार्फत प्रहरी संगठनको छवि थप उज्ज्वल बनाउने अठोट व्यक्त गरेका छन्।
प्रहरी निरीक्षक दिवस कुँवरले देखाएको साहस, प्रतिबद्धता र नेतृत्वदक्षता आजको प्रहरी सेवामा अनुकरणीय उदाहरण बनेको छ। उनका यस्ता कार्यले सम्पूर्ण संगठनमा उत्साह, प्रेरणा र सम्भावनाको सन्देश फैलाएको छ।




