
काठमाडौं– नेपाल प्रहरीको साइबर ब्युरोले सेयर तालिम दिने वा अनलाइन ऋण भुक्तानी गर्न सकिने जस्ता प्रलोभन देखाएर पठाइने फिसिङ लिङ्कहरू नखोल्न सर्वसाधारणलाई आग्रह गरेको छ।
ब्युरोका अनुसार यस्ता लिङ्कहरू मार्फत् प्रयोगकर्तालाई आवश्यक सफ्टवेयर (*.exe) फाइल इन्स्टल गर्न उक्साइन्छ, जसले गर्दा व्यक्तिगत तथा वित्तीय जानकारी चोरी हुने जोखिम बढ्छ। विशेष गरी मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई खातामा समस्या देखिएको भन्दै पठाइने लिङ्कहरूमा क्लिक गर्न अनुरोध गरेर अनलाइन ठगी गर्ने घटनाहरू बढ्दै गइरहेको ब्युरोले जनाएको छ।

साइबर ब्युरोले यस्ता सन्देशहरूमा विश्वास नगर्न, शंकास्पद लिङ्कहरू नखोल्न, र अनलाइन सुरक्षामा विशेष ध्यान दिन सर्वसाधारणलाई अनुरोध गरेको छ। यदि कसैले यस्ता ठगीका घटनाहरूको सामना गरेमा, तत्काल साइबर ब्युरोसँग सम्पर्क गर्न वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत आग्रह गरिएको छ।




