
काठमाण्डौं— इलाका प्रहरी कार्यालय मंगलटारद्वारा स्थापना गरिएको नेपालकै पहिलो नागरिक प्रहरी पुस्तकालय स्थानीय समुदाय, विद्यार्थी तथा प्रहरी कर्मचारीबीच ज्ञान आदानप्रदानको सशक्त केन्द्रको रूपमा स्थापित हुँदै गएको छ। उक्त पुस्तकालयमा पछिल्लो समय विद्यार्थी तथा प्रहरी कर्मचारीहरूले समयको सदुपयोग गर्दै अध्ययन तथा अनुसन्धानमा सक्रिय सहभागिता जनाइरहेको कार्यालय प्रमुख प्रहरी निरिक्षक कृष्ण गिरिले जानकारी दिनु भयो ।

गिरिले भन्नु भयो शान्ति, सुरक्षा र समृद्धिका लागि प्रहरी–नागरिक सम्बन्धलाई अझ सुदृढ बनाउन पुस्तकालयले महत्वपूर्ण भूमिका खेलिरहेको छ। स्थानीय विद्यालयका विद्यार्थीहरू पाठ्यक्रमसँग सम्बन्धित अध्ययनका साथै अतिरिक्त ज्ञानका पुस्तकहरू पढ्न
पुस्तकालय आउने गरेका छन्। त्यसैगरी, प्रहरी कर्मचारीहरूले पनि ड्युटीबाहेकको समय उपयोग गर्दै पेशागत दक्षता वृद्धिका लागि विभिन्न विषयमा अध्ययन गरिरहेका छन्।
पुस्तकालयमा नेपाली र अंग्रेजी भाषाका साहित्य, विज्ञान, समाजशास्त्र, अपराध अनुसन्धान, कानुन, इतिहासलगायत विविध विधाका पुस्तकहरू उपलब्ध छन्। यसले अध्ययन संस्कृतिको प्रवर्द्धन मात्र होइन, प्रहरी र नागरिकबीचको सहकार्यलाई समेत प्रगाढ बनाइरहेको छ।

स्थानीय समुदायबाट समेत पुस्तकालयप्रति चासो र सहयोग बढ्दो क्रममा छ। पुस्तक दान गर्ने, पुस्तकालय व्यवस्थापनमा सहयोग पुर्याउने तथा अध्ययनका लागि प्रोत्साहन दिने कार्यहरू भइरहेका छन्।
‘नागरिक प्रहरी पुस्तकालय’ले अध्ययन–अध्यापन, ज्ञान वृद्धि र सकारात्मक सोच विकासमा योगदान दिँदै, समाज रूपान्तरणको एउटा सशक्त माध्यमका रूपमा आफूलाई प्रस्तुत गरिरहेको छ।




