काठमाडौं – गत शुक्रबार राजावादी समर्थकको आगजनी र तोडफोडका कारण कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड मा २८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ।

चैत १५ गते भएको घटनामा कम्पनीको सञ्चो उत्पादन गर्ने भवन र ल्याब पूर्णरूपमा क्षतिग्रस्त भएको छ। प्रारम्भिक अनुमानअनुसार आगजनीबाट करिब २८ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। कम्पनीकी महाप्रबन्धक संगीता यादवका अनुसार क्षतिको विस्तृत अध्ययन गर्न बाँकी रहेको छ।

यादवका अनुसार आगजनी र तोडफोडका कारण केही दिन उत्पादन प्रभावित हुन सक्ने भए पनि कम्पनीका अन्य शाखाबाट नियमित रूपमा सञ्चो उत्पादन गर्ने योजना बनाइएको छ। साथै, कम्पनीले सञ्चो मह र सञ्चो टिमुर ल्याउने तयारीसमेत गरिरहेको उनले जानकारी दिइन्।

उनले आगजनीका कारण कम्पनी जलेर खरानी भए पनि सरकारलगायत सबैको सहयोगमा अझै शक्तिशाली रूपमा पुनःउत्थान गर्ने प्रतिवद्धता व्यक्त गरिन्।

यस घटनाले कम्पनीको शाखा विस्तार कार्य केही समयका लागि रोकिने महाप्रबन्धक यादवले बताइन्। २०३८ सालमा स्थापित नेपाल सरकारको स्वामित्वमा रहेको यो कम्पनी निरन्तर शाखा विस्तारमा केन्द्रित रहँदै आएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय