
काठमाण्डौं— सिराहास्थित इलाका प्रहरी कार्यालय लहानमा नयाँ डीएसपी नियुक्त भएका छन्। प्रहरी प्रधान कार्यालयले डीएसपी हिरेन्द्र रोकायालाई लहानमा काज सरुवा गरेको छ।
यसअघि लहानमा कार्यरत डीएसपी विष्णु सोतीलाई लागुऔषध नियन्त्रण ब्युरोमा काज सरुवा गरिएको प्रहरीले जनाएको छ। रोकाया पनि यसअघि लागुऔषध नियन्त्रण ब्युरोमै कार्यरत थिए।

यसअघि मंगलबार सिराहाका एसपी रमेश पण्डितलाई फिर्ता बोलाएर अनन्तराम शर्मालाई पठाउने निर्णय गरिएको थियो। त्यस्तै, सिराहाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बासुदेव दाहाललाई पनि जिम्मेवारीबाट हटाएर गृह मन्त्रालय तानिएको थियो।
सिराहाको औरहीमा महायज्ञ लगाउन दलितको घर भत्काएर स्थानान्तरण गरिएको घटनाले विवाद सिर्जना गरेको छ। सो प्रकरणमा गाउँपालिका अध्यक्षसहित दुई जना थुनामा छन्। तर, लहानका डीएसपीको सरुवा उक्त घटनासँग सम्बन्धित नभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।



