काठमाडौँ— अवैध रूपमा सुन आयात गरी गहना तयार पारेको अभियोगमा प्रहरीले स्वयम्भूबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट, विदुर नगरपालिका–५ घर भई हाल कलंकीमा बस्दै आएका दिपेशलाल चित्रकार रहेका छन्।

प्रहरी वृत्त स्वयम्भूको टोलीले उनलाई काठमाडौँ महानगरपालिका–१५, स्वयम्भूस्थित आनन्दकुटीबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार उनको साथबाट ठूलो परिमाणमा सुनका गहना बरामद गरिएको छ।

बरामद गहनाहरूमा— नौगेडी ११ थान, सिङ्गल गेडी माला ७ थान, क्रिस्टलसहितको सुनको माला १३ थान, मङ्गलसूत्र ६ थान, सोली गेडी १ थान, टप ३ थान, क्लिप ९ थानसहित १४ प्रकारका गहना रहेका छन्।

प्रहरी अनुसन्धान अनुसार, चित्रकारले अवैध रूपमा आयात गरिएको सुनबाट गहना बनाएर बिक्री गर्ने गरेको पाइएको छ। उनले प्रहरीसमक्ष बयान दिँदै, ‘बङ्गालीहरूले ल्याइदिएको सुनको गहना बनाएर बेच्न लागेको’ बताएका छन्।

गहना बेच्न हिँडेको अवस्थामा पक्राउ परेका उनलाई मंगलबार राजस्व अनुसन्धान विभाग, हरिहर भवनमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय