
काठमाडौं— प्रहरीले झण्डै साढे ५ क्विन्टल गाँजासहित ३७ वर्षीय युवकलाई पक्राउ गरेको छ।
महोत्तरीको बर्दिबास नगरपालिका-३ स्थित सडकबाट प्रहरीले ५ क्विन्टल ४७ किलो गाँजा बरामद गरेको हो। उक्त लागूऔषधसहित काठमाडौंको टोखा डेरा गरी बस्ने, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ निवासी ३७ वर्षीय सलिन मगर पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बा ३ ख ५८३२ नम्बरको मिनिट्रक जाँच गर्ने क्रममा गाँजा फेला पारेको हो। ट्रकको माथिल्लो भागमा फल्स बटम बनाई कालो त्रिपालले छोपेर गाँजा लुकाइएको थियो।
प्रहरीले पक्राउ परेका चालक सलिनमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।



