
अब नियुक्त हुने प्रहरी महानिरीक्षक करिब ८० हजार प्रहरीको नेतृत्व गर्दै आन्तरिक सुरक्षाका प्रमुख कर्ताको रूपमा कार्यसम्पादन गर्नेछन्। जो कोही आईजीपी भए पनि उनलाई सफल कार्यकालको शुभकामना।
नयाँ आईजीपीका रूपमा दौडमा रहेका तीनै जना योग्य र सुरक्षा क्षेत्रका फरक-फरक आयामका विज्ञ हुन्। तर, करिब ६ महिना मात्र संगठन हाक्ने मौका पाउने भएकाले उनीहरू जति नै सक्षम भए पनि संगठनमा आमूल परिवर्तन ल्याउन समयको सीमितता बाधक बन्ने देखिन्छ। त्यसैले, प्रत्येक ६ महिनामा प्रहरी प्रमुख परिवर्तन गर्नुको साटो ३० वर्षे सेवा अवधि हटाउने विषयमा सबैले आफ्नो स्वार्थभन्दा माथि उठेर पहल गर्न आवश्यक छ। कम्तीमा ३–४ वर्षको कार्यकाल सुनिश्चित गरिए मात्र आईजीपीको कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन हुन सक्छ।

अर्को महत्त्वपूर्ण पक्ष भनेको अन्तिम घडीमा मात्र आईजीपी नियुक्त गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति खेल्ने अवसर प्राप्त हुने र नियुक्ति विवादास्पद बन्ने खतरा रहन्छ। यसले चेन अफ कमान्डसमेत कमजोर बनाउने सम्भावना हुन्छ। त्यसैले, प्रहरी महानिरीक्षक नियुक्ति एक महिना अघि नै गर्ने प्रणाली बसाल्न नयाँ ऐनमार्फत मार्गप्रशस्त गर्नु जरुरी छ।



