
काठमाण्डौं— प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका कर्मचारीहरुले पाउँदै आएको औषधी उपचार खर्च कटौती नहुने स्पष्ट पार्दै, यस सम्बन्धी भ्रामक समाचार गलत भएको जनाएको छ।
प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख एआईजी टेकप्रसाद राईले मातहतका सबै बजेट सञ्चालन गर्ने कार्यालयहरुलाई परिपत्र गर्दै बुधबार यस विषयमा जानकारी गराउनुभएको हो।

बजेट शाखामार्फत पठाइएको परिपत्रमा प्रहरी नियमावली, २०७१ अनुरूप प्रहरी कर्मचारीहरुले प्राप्त गर्ने सेवा सुविधाको व्यवस्था यथावत रहेको जनाइएको छ। साथै, अन्य सरकारी कार्यालयहरुले आफ्ना मातहतका निकायलाई गर्ने नियमित परिपत्रलाई आधार मानी विभिन्न माध्यमबाट औषधी उपचार खर्च कटौती हुने भन्ने भ्रामक सूचना तथा अफवाह फैलाइएको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
भ्रामक सूचनामा नपर्न आग्रह, अफवाह फैलाउनेलाई कारबाही गर्ने चेतावनी—
प्रहरी प्रधान कार्यालयले यस्ता भ्रामक सूचनामा कुनै सत्यता नरहेको प्रस्ट पार्दै, प्रहरी कर्मचारीहरुको सेवा सुविधामा कुनै कटौती नहुने तथा थप सेवा सुविधा उपलब्ध गराउन संगठन विशेष पहल गरिरहेको जनाएको छ।
परिपत्रमा भनिएको छ, ‘त्यस्ता भ्रामक सूचना तथा अफवाह फैलाउने वा प्रेषित गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न नेपाल प्रहरी प्रतिबद्ध छ।’
यस परिपत्रलाई नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गतका सबै विभाग, निर्देशनालय, महाशाखा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा सबै प्रदेश प्रहरी कार्यालयहरुमार्फत मातहतका प्रहरी कर्मचारीहरुलाई जानकारी गराउन र सूचना पाटीमा टाँस गर्न निर्देशन दिइएको छ।




