
कास्की— पोखरा महानगरपालिका-३ स्थित नदीपुरको अस्थायी प्रहरी पोस्टमा सबै महिला प्रहरी खटाइएका छन्।
जिल्ला प्रहरी कार्यालय कास्की अन्तर्गतका ७७ युनिटमध्ये नदीपुर पोस्ट पहिलो पूर्ण महिला प्रहरी युनिट बनेको हो। प्रहरी सहायक निरीक्षक (असई) दीपा आलेको नेतृत्वमा नौ जना महिला प्रहरी उक्त पोस्टमा कार्यरत छन्।

उक्त पोस्टमा असई आलेसहित प्रहरी हबलदार सङ्गीता महतो, तथा जवानहरू देवी पुर्जा, मनीषा बुढा, अमृता अठारे, गङ्गा सुनार, जानुका श्रेष्ठ, मञ्जु नेपाली र ममता सिंहलाई खटाइएको छ।
आईतबारदेखि पूर्ण रूपमा महिला प्रहरी परिचालन गरी सेवा सुरू गरिएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाले महिला प्रहरीको दक्षता, क्षमताको उजागर र उनीहरूमा थप आत्मविश्वास बढाउने उद्देश्यले यस्तो कदम चालिएको बताए।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले महिलाहरू मात्र कार्यरत युनिट बढी अनुशासित र प्रभावकारी हुने विश्वास व्यक्त गरे।



