
काठमाण्डौं — झापाका विभिन्न स्थानबाट गएराति लागू औषधसहित दुई जना पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका–६, स्यालडाँगी र झापा गाउँपालिका–३, फुलगाछी बाट छुट्टाछुट्टै समयमा उनीहरू पक्राउ परेका हुन्।
बिर्तामोड-६, स्यालडाँगीमा अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट खटिएको टोलीले २५ वर्षीय मोहम्मद मुक्तार मन्सुरीलाई आफ्नै घरमा लागू औषध सेवन गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ।

उनको कोठा तथा शरीर खानतलासी गर्दा
• प्रतिबन्धित ब्राउन सुगर (३२० मिलिग्राम)
• गाँजा (४ ग्राम १५० मिलिग्राम) फेला परेको थियो।
उनीमाथि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ।
यसैगरी, गएराति ९ बजे झापा गाउँपालिका–३, फुलगाछीबाट इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीले कनकाई नगरपालिका–३, सुरुङ्गाका २५ वर्षीय मन्जित भन्ने दर्पन वाग्लेलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट ब्राउन सुगर (३ ग्राम ४८ मिलिग्राम) बरामद गरेको छ।
झापा प्रहरीले उनीहरूलाई लागुऔषध मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखी थप अनुसन्धान जारी रहेको जनाएको छ।



