
नेपालगञ्ज — जिल्ला प्रहरी कार्यालय बाँकेले १८ वर्षीय दिनेश रोकायाको हत्या आरोपमा ६ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार, पक्राउ पर्नेहरूमा बाँकेको बैजनाथ गाउँपालिका–२ की मनीषा राना, ३४ वर्षीय रामबहादुर राना, १८ वर्षीय भिजन नेपाली, जाजरकोट शिवालय गाउँपालिका–७ का २९ वर्षीय हिमबहादुर बुढा, दाङ बबई गाउँपालिका–६ की २७ वर्षीया अमृता डाँगी, र बाँकेको बैजनाथ गाउँपालिका–८ का १८ वर्षीय सुजन बुढा रहेका छन्।

माघ २५ गते बैजनाथ गाउँपालिका–८ स्थित सुवास बुढाको विवाह समारोहमा विवाद हुँदा दिनेश रोकायामाथि धारिलो हतियार प्रहार भएको थियो। ६ जनाको समूहले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि भारतको लखनउ लगिएका रोकायाको माघ २७ गते बिहान ३ बजे निधन भएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका ६ जनालाई बाँके जिल्ला अदालतमा पेश गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि म्याद थप गरेको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



