काठमाण्डौं— धनुषाको इलाका प्रहरी कार्यालय ढल्केबरले आफूलाई डीएसपी (उपरीक्षक) भन्दै ठगी गर्ने एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा, लाहान नगरपालिका-२० का गुनदेव साहका छोरा २० वर्षीय दीपक साह उर्फ धनिकलाल साह रहेका छन्। उनले आफूलाई नेपाल प्रहरीको डीएसपी हुँ भन्दै विभिन्न व्यक्तिहरूलाई ठगी गर्ने गरेको खुल्न आएको छ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ का रमेश श्रेष्ठलाई प्रहरीको पावरको हवाला दिँदै विश्वासमा पारेर रु ५०,००० ठगी गरेपछि घटना बाहिर आएको हो। श्रेष्ठले पैसा लिएर फरार भएपछि प्रहरीमा उजुरी दिएका थिए। उजुरीपछि प्रहरीले अनुसन्धान तीव्र पारेको थियो, जसको आधारमा साहलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिएका छन्।

प्रहरीका अनुसार, पक्राउ परेका धनिकलाल साह विभिन्न समयमा आफ्नो परिचय परिवर्तन गर्दै ठगी गर्ने गर्थे। कहिले नेपाली सेना भएको त कहिले प्रहरी अधिकारी भएको भन्दै मानिसहरूलाई झुक्याएर ठगी गर्ने गरेको खुलेको छ।

हाल उनलाई ठगी कसुरमा धनुषा जिल्ला अदालतबाट म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय