काठमाण्डौं। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दानबहादुर कार्कीले जनतासँग नजिकिँदै शान्ति सुरक्षा मजबुत बनाउन जनमुखी कार्यक्रम सञ्चालन गर्ने बताएका छन्। हालै सरुवा भई लुम्बिनी प्रदेश आएका कार्कीले प्रहरी कार्यालयहरूले नागरिक सुनुवाइ कार्यक्रम नियमित सञ्चालन गर्नुपर्ने, गाउँ–गाउँमा गस्ती गरी जनताका समस्याबारे जानकारी लिनुपर्ने र प्रहरी-जनता सम्बन्ध सुमधुर बनाउन विशेष योजना अघि सारिएको जानकारी दिए।

लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलमा सञ्चारकर्मीहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै डिआइजी कार्कीले प्रदेशभित्रका सबै प्रहरी कार्यालयलाई मासिक रूपमा कामको समीक्षा र छलफल गर्न निर्देशन दिएका छन्। उनले प्रहरीको कार्यदक्षता विकास र जनतालाई प्रदान गरिने सेवा चुस्त बनाउन नयाँ रणनीतिसहित अगाडि बढेको दाबी गरे।

सवारी दुर्घटना न्यूनीकरणमा विशेष ध्यान
प्रदेशभित्र सवारी दुर्घटनाका घटनाहरू बढिरहेको उल्लेख गर्दै कार्कीले पछिल्लो ६ महिनामा ८७८ दुर्घटनामा २६१ जनाले ज्यान गुमाएको र १,३०० भन्दा बढी घाइते भएको तथ्यांक सार्वजनिक गरे। पुस महिनामा मात्रै ३६५ दुर्घटनामा ५७ जनाको मृत्यु भएको र ५९२ जना घाइते भएको जानकारी दिए। उनले दुर्घटनामा बढी संलग्न मोटरसाइकलको संख्यालाई ध्यानमा राखी चेकजाँच र जनचेतनामूलक कार्यक्रमलाई तीव्रता दिइएको बताए।

अवैध क्रियाकलापविरुद्ध कडाइ
डिआइजी कार्कीले विभिन्न घटनामा संलग्न फरार व्यक्तिहरूलाई पक्राउ गर्न प्रहरी सफल भएको जानकारी दिए। पछिल्लो ५ महिनामा ८५ फरार प्रतिवादी पक्राउ गरी २६ करोड ३९ लाख राजस्व संकलन गरिएको र पुस महिनामा मात्रै २२ प्रतिवादी समातेर ५ करोड १८ लाख राजस्व संकलन गरिएको बताए।

अवैध हतियार र विस्फोटक पदार्थ बरामद गर्ने कार्यमा पनि प्रहरी सफल भएको छ। पुस महिनामा मात्रै लुम्बिनी प्रदेशका ४० प्रहरी कार्यालयले ५४६ मुद्दा दर्ता गरेको उनले जानकारी दिए।

चोरी तस्करी नियन्त्रण र पारदर्शिता
खुला सिमानाबाट हुने चोरी तस्करी नियन्त्रण गर्न प्रहरीको ध्यान केन्द्रित रहेको जनाउँदै डिआइजी कार्कीले कुनै प्रहरी कर्मचारीले आचरणविपरीत कार्य गरे तत्काल कारबाही गरिने प्रतिबद्धता जनाए।

उनले शान्ति सुरक्षामा प्रभावकारिता बढाउन प्रहरी र जनताको आपसी सहकार्य आवश्यक रहेको उल्लेख गर्दै गस्ती र पेट्रोलिङ थप व्यवस्थित गर्न योजनाबद्ध पहल गरिने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय