
काठमाडौं। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेक बहादुर तामाङले आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रमका क्रममा एआइजी तामाङले जिल्ला प्रहरी परिसर काठमाडौंको व्यारेक, विभिन्न शाखा, हिरासत कक्ष र अन्य संरचनाको निरीक्षण गरे। त्यसपछि उपस्थित जिल्ला प्रहरी परिसरका प्रमुख, मातहतका वृत्त, प्रभाग, र बिटका प्रमुखहरू लगायतका कर्मचारीहरूलाई निर्देशन दिँदै उनले काठमाडौं जिल्ला राजधानी शहर मात्र नभई देशको प्रमुख प्रशासकीय केन्द्र पनि भएकाले यहाँ कार्यरत प्रहरी कर्मचारीले थप जिम्मेवार भई उत्कृष्ट ढंगले कार्यसम्पादन गर्नुपर्ने बताए।


उनले काठमाडौंमा VVIP तथा VIP हरुको बसोबास, जनसंख्याको उच्च चाप, र Vital Installations को उपस्थितिका कारण अपराधको चाप अन्यत्रभन्दा बढी हुने भएकाले यहाँको प्रहरी कार्य संवेदनशील र चुनौतीपूर्ण रहेको उल्लेख गरे। तामाङले प्रहरी कर्मचारीहरूलाई आफ्नो कार्यक्षमता र जवाफदेहिता थप सुदृढ गर्दै नागरिकका लागि प्रभावकारी सेवा सुनिश्चित गर्न निर्देशन दिए।



