
काठमाण्डौं। सवारी दुर्घटना न्यूनीकरण गर्न मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकल चालक लक्षित शुभयात्रा अभियान सुरु गरेको छ।
मकवानपुर जिल्ला ट्राफिक प्रहरी प्रमुख केशव अधिकारीका अनुसार जिल्लामा हुने सवारी दुर्घटनामा मोटरसाइकलको संलग्नता धेरै रहेकोले यो अभियान सञ्चालन गरिएको हो। अभियानको उद्देश्य मोटरसाइकल चालकलाई सुरक्षित यात्रा गर्न प्रोत्साहित गर्नु हो।

अभियानको क्रममा ट्राफिक प्रहरीले मोटरसाइकल चालकलाई नमस्कार गर्दै सुरक्षित यात्रा सुनिश्चित गर्न विभिन्न सन्देश दिने गरेको छ। “हामी तपाईंलाई सुरक्षित यात्राको शुभकामना दिन्छौं। कृपया बिस्तारै चलाउनुहोस्, हेलमेट लगाउनुहोस्, नशालु पदार्थ सेवन गरेर सवारी नगाडी जीवनको रक्षा गर्नुहोस्,” जस्ता सन्देश दिँदै ट्राफिक प्रहरीले चालकहरूको विवरणसमेत सुरक्षित राख्ने गरेको छ।

पछिल्ला दिनमा मोटरसाइकल दुर्घटना वृद्धि भएकोले यस्तो सचेतनामूलक कार्यक्रमले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ।




