
काठमाण्डौं। लुम्बिनी प्रदेश प्रहरी सीमा क्षेत्रबाट हुने अवैध तस्करी, चोरीपैठारीविरुद्ध निर्मम बनेको छ । तस्करीमार्फत नियमित चलिरहेको राजस्व चुहावटलाई लुम्बिनी प्रहरीले एकाँध सातामै लयमा फर्काएको हो । ३० मंसिरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी नायब महानिरीक्षक (डिआईजी) दानबहादुर कार्कीले प्रदेशभित्र तस्करी ठप्प पारेका हुन् । डिआईजी कार्कीले तस्करीविरुद्ध निर्मम अभियान नै सञ्चालन गरेपछि तस्करहरुको भागाभाग भएको छ भने गैरकानुनी पैठारीमा कमी भएको छ । सुरक्षा संयन्त्रहरुकाअनुसार अवैध पैठारी गर्ने केही ठूला तस्कर आफ्नो धन्दाको पक्षमा राजनीतिक पहुँच प्रयोग गर्न काठमाडौंसम्म पुगेका छन् ।
प्रहरीको प्रमुख जिम्मेवारी अपराध नियन्त्रण हो। त्यसका अलावा चोरी निकासीलगायत गैरकानुनी कार्यको नियन्त्रणका लागि प्रहरीले सहयोगी भूमिका निर्वाह गर्दै आएको छ। लुम्बिनी प्रदेशका भारतीय सीमा क्षेत्रबाट हुने चोरी निकासी र तस्करीलगायत गैरकानुनी कृयाकलापका बारेमा प्रदेश प्रहरीले नजिकबाट हेरेको छ। चोरी निकासी र तस्करी कार्यलाई नियन्त्रण गर्नका लागि मुख्य भूमिकामा राज्यका अरु निकायहरु (भन्सार, राजस्वलगायतका निकाय) परिचालन छन् ति निकायको सहयोगीका रुपमा रहेर प्रहरीले चोरी निकासी र तस्करी रोक्नका लागि प्रयासरत छ ।


तस्करी रोकने क्रममा प्रहरीले बरामद गरेका वस्तुहरुलाई कारवाही गर्ने निकायमा पठाउने गर्दछ । प्रहरी स्वयंले त्यसलाई कारवाही गर्दैन । त्यस्ता कार्यको क्रस चेकिङमा भने प्रहरीले निगरानी राख्दछ। पछिल्लो समय खुला सीमाबाट हुने अपराधलगायत तस्करी कार्यलाई रोक्नका लागि मातहतका जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छौं। जिल्लामा हुने अपराधलगायत चोरी निकासीका गतिविधिलाई नियन्त्रण गर्ने प्रमुख जिम्मेवारी त्यही जिल्लाको प्रहरी प्रमुखको अधिकारभित्र पर्छ । जिल्लाले नियन्त्रण गरेको बताइरहँदा कहिले काही गलत कृयाकलाप भएको हुन सक्छ त्यसलाई प्रदेशमा रहेको प्रहरीले निगरानी राख्ने गर्दछ। जिल्लाले गरेको कामलाई प्रदेशले सुपरिवेक्षण र अनुगमन गर्ने हो। जिल्लामा गलत काम भएको बारे गुनासा आउने गरेमा वा भएको पाइएमा सुपरिभिजन गर्ने जिम्मेवारी पाएको प्रदेश प्रहरीले छुट्टै टोली पठाएर पनि अनुगमन गर्ने गरेका छौं। केही दिनअघि नवलपरासीकै भुजहवामा प्रदेशबाट खटिएको अनुगमन टोलीले तस्करीका सामान पक्राउ गन्यो । नाकामा हुने त्यस्ता गैरकानुनी गतिविधि नियन्त्रण गर्ने त्यहीको प्रहरी इन्चार्जको हो । तर, त्यहाँ कमजोरी देखिएको छ।

त्यसबाहेक पनि केही स्थानमा कमजोरी देखिएकाले त्यस्ता प्रहरी इन्चार्ज र जिम्मेवारी पुरा गर्न नसक्ने प्रहरीलाई तत्काल जिम्मेवारीबाट हटाउन जिल्ला प्रहरी प्रमुखलाई भनेका छौं। आफ्नो दायित्व र जिम्मेवारी सम्झेर काम गर्ने प्रहरी पुरस्कृत हुन्छ, जिम्मेवारी बहन गर्न नसक्ने र गलत मनसाय राख्नेहरु कारबाहीको भागिदार हुन्छन्। मातहतका जिल्ला प्रहरी प्रमुखहरुले जिम्मेवारीपूर्वक काम गर्दै आएका छन्। अझ त्यसलाई प्रभावकारी र सबै प्रहरीलाई थप जिम्मेवारी बोध गराउन प्रदेशबाट सुक्ष्म निगरानी सहित आवश्यक निर्देशन दिएका छौं।



