
काठमाडौं । नेपाल प्रहरीकै एक काबिल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य आजबाट अनिवार्य अवकाश गएकी छिन् ।
२०५१ चैत ५ गते प्रहरी सेवामा प्रवेश गरेकी एआईजी बज्राचार्य एआईजीको ५६ वर्षे उमेरहदका कारण आजबाट अनिवार्य अवकाश गएकी हुन् । उपत्यका प्रहरी कार्यालयको प्रमुख रहेकी एआईजी बज्राचार्यलाई सोमबार नै कार्यालयले बिदाइ गरेको थियो। उनको गत साउन २२ गते उपत्यका प्रहरी कार्यालयमा सरुवा भएको थियो।
उनी अवकाश गएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख विहीन बनेको छ।
राम्रो कमान्ड गर्न सक्ने खुबी भएकी बज्राचार्य यसअघि ललितपुर र भक्तपुरको जिल्ला नेतृत्व गरिसकेकी छिन् भने काठमाडौं उपत्यका प्रहरी कार्यालय र नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गर्ने पहिलो महिला उच्च अधिकृत समेत हुन् ।
बर्तमान प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको एउटै ब्याजी रहेपनि ३० वर्षे सेवा अवधि सकिन केही महिना बाँकि रहेपनि एआईजीको ५६ वर्षे उमेरहदले उनी अनिवार्य अवकाश गएकी हुन् ।

एआईजी बज्राचार्य आईजीपीको दाबेदार भएपनि उनीहरुकै ब्याचबाट कुँवर प्रहरी प्रमुख बनेका थिए।
उनी अवकाश गएसँगै अब नेपाल प्रहरीमा दुई एआईजीको दरबन्दी रिक्त बन्न पुगेको छ। आइतबार ५६ वर्षे उमेरहदका कारण यसअघि नै एआईजी भरत बहादुर बोहरा अवकाश गइसकेका छन् । उनीहरु दुबै जना अवकाश हुँदा ४ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) एआईजीको बढुवा लाइनमा छन् ।



