काठमाण्डू, ३० कात्तिक- काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उपत्यकाको फोहोर व्यवस्थापनमा संघीय सरकारले असहयोग गरेको आरोप लगाएका छन् ।

सामाजिक सन्जालमार्फत शुक्रबार उनले सरकार, छिमेकी पालिकाहरु र फोहोर व्यवस्थापनको जिम्मा पाएको कमेपनीले असहयोग गरेको आरोप लगाएका हुन् ।

फोहोर व्यवस्थापन गर्नुको साटो फोहोरलाई स्थायी राजनीतिक हतियार बनाउने काम सरकारबाटै भइरहेको टिप्पणी उनको छ ।

साहले महानगरको अधिकारमाथि समेत संघीय सरकारको हस्तक्षेप गरेको बताए ।

विवादित नेपवेस्ट कम्पनीलाई नै फोहोर व्यवस्थापनको जिम्मा दिएर फोहोरमा एकाधिकार लाद्ने र दिगो समाधान नहुने बाटो तोड्न आफूहरु क्रियाशील रहेको साहले उल्लेख गरे ।

वैधानिक मापदण्डअनुसार टेन्डर गर्दा पनि नेपवेस्टले मुद्दा हालेको र मुद्दाको फैसला आफूहरुकै पक्षमा आएकोसमेत उनले उल्लेख गरेका छन् ।

सम्मानित अदालतले फोहोर व्यवस्थापनको अधिकार महानगरमै रहेको  आदेश दिएपछि फोहोर व्यवस्थापनमा रहेको अवरोध पाखा लागेको भन्दै फोहोरको दिगो व्यवस्थापनमा एक कदम अगाडि बढेको दाबी साहले गरे । उनले लेखेका छन्, ‘अवरोध, हस्तक्षेप र राजनीतिका खराब दाउपेच अझै पनि हुन सक्छन् । तर हामी रोकिने छैनौँ ।’

बालेनले फोहोरको दिगो समाधान सम्भव रहेको र त्यो काठमाण्डूबासीको अधिकारको कुरा भएको उल्लेख गरेका छन् । ‘हामीले फोहोर थुपारेर बर्षौँदेखि अन्याय गरिरहेको सिस्डोल र बञ्चरे डाँडा लगायत स्थानका पीडितहरुको न्यायको कुरा हो । यो हजारौँको रोजगारी र देशभरको गौरव जोडिएको विषय हो’, उनले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय