काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बुधबार रुपन्देहीमा गरेको भाषणले प्रहरीमा तरंग उत्पन्न भएको छ । उनले सबै प्रहरी अधिकारीको बैंक खाता जाँच भइरहेको र एक डीआईजी छिट्टै फस्ने बताएका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको भवन उद्घाटन कार्यक्रममा उनले प्रहरीमा आन्तरिक शुद्धीकरणको अभियान चलिरहेकाले कुनै गलत काममा नलाग्न आईजीपीले चेतावनी दिएका थिए । भाषणमै डीआईजी फस्न लागेको बताएपछि यो विषय अझ धेरै चर्चामा छ ।

महानिरीक्षकको सचिवालय स्रोतका अनुसार मधेस प्रदेशका डीआईजी यज्ञबिनोद पोखरेलमाथि छानविन भइरहेको छ । उनको खातामा केही अस्वभाविक कारोबार भेटिएको छ । सोही विषयमा विस्तृत छानविन भइरहेको छ ।

उनकै विषयमा आईजीपी कुँवरले एक डीआईजी छिट्टै फस्ने बताएका हुन् । पोखरेलले तराईमा खटाएका केही घुमुवालाई झिकाएर उजुरी छानविन शाखाले सोधपुछ गरिरहेको छ ।

जसक्रममा केही बिचौलिया मार्फत लेनदेन भेटिएको छ । जितेन्द्र कर्ण नामक बिचौलियामार्फत उनले तस्करीको लाइन खुलाएर पैसा असुलेको प्रमाण भेटिएको छ ।

डीआईजी पोखरेल नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा मधेस प्रदेश गएका थिए । सुरुदेखि नै कमाण्ड कमजोर भएको आरोप उनीमाथि लाग्दै आएको छ । छानविन गरी उनलाई गृह मन्त्रालयले समेत सरुवा गर्न लागेको छ ।

आईजीपी कमजोर भयो भनेर टिप्पणी भइरहेका बेला आईजीपी कुँवरले सार्वजनिक रुपमै गरेको चर्को भाषणलाई प्रहरीभित्र अर्थपूर्ण रुपमा लिइरहेको छ । डीआईजीसहित अन्य केही प्रहरी अधिकारीमाथि समेत तिव्रताका साथ उनले छानविन अघि बढाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय