
शुरज थपलिया
काठमाडौँ, भदौ ५ गते । कलाकार शंकर आचार्यको नयाँ टेलि सिरिज ‘रुनु न हाँस्नु’ युट्युबमार्फत दर्शकमाझ आउँदैछ ।
सिरिज भदौ ११ गतेदेखि हरेक मंगलबार बेलुका ७ बजे बरिष्टे इन्टरटेनमेन्ट युट्युब च्यानलबाट प्रसारण हुने निर्माण पक्षले जानकारी दिएको छ।

भ्रष्टाचार र घुसखोरीले गर्दा देशमा बस्न र बाँच्न गार्हो भएको यथार्थलाई आचार्यले व्यंग्यात्मक शैलीमा सिरिजमा प्रस्तुत गरेको बताएका छन् ।
सिरिजले जनचेतना फैलाउने उद्देश्यका साथ भ्रष्टाचारले देश र जनतालाई पारेको प्रभावलाई सरल र हाँस्य रसमा प्रस्तुत गरेको निर्माण पक्षको दाबी छ।
ञरुनु न हांस्नु’ सिरिजमा शंकर आचार्य, रमेश अधिकारी, अप्सरा जोशी, गोकुल सुवेदी, सावित्रा चिलुवाल, सपेन्द्र धिताल, अंजली थापा, गणेश धिताल, अश्मिता रसाईली, सुदर्शन आचार्य, किशोर बराईली, र मेलिना श्रेष्ठ लगायतका कलाकारहरूले अभिनय गरेका छन्।
शंकर आचार्यले रचना गरेको गीतमा राज आचार्यले संगीत दिएका छन् भने भिशम आचार्यले एरेन्ज तथा स्वर दिएका छन्। सिरिजको छायांकन राहुल राईले गरेका हुन् भने सम्पादन राजेन्द्र मानन्धर र सुजित श्रेष्ठले गरेका छन्।
सिरिजको ट्रेलर गाई जात्राको दिन अर्थात् ४ भदौ २०८१ मा सार्वजनिक गरिएको थियो।
ट्रेलरमा खराब नेताहरुको हातमा देश पुग्दा परेको असर, वैदेशिक रोजगार, यसले पारेको प्रभावबारे देखाइएको छ । विदेश गएपछि आमा मर्दा दाहसंस्कार गर्न आउन पनि नचाहेका छोराको कुराले विक्षिप्त बुबाको अवस्था देख्न सकिन्छ ।
निर्मला पन्तको बलात्कार र हत्या पछि न्याय नपाएको कुरालाई पनि व्यङ्ग्यात्मक रुपमा देखाइएको छ । काठमाडौंका मेयर बालेनले राम्रो काम गरेपनि राजनीतिक दलका नेताहरुले खेदेको कुरा देखाउन खोजेको छ । यसका अलावा पारिवारिक र सामाजिक विकृति विसंगतिबारे पनि सिरिजमा देख्न सकिने ट्रेलरबाट प्रष्ट हुन्छ ।
यसको छायांकन काभ्रे र भक्तपुरको सीमास्थित काक्राबारीमा गरिएको छ । ’रुनु न हांस्नु’ले दर्शकहरूलाई हँसाउने मात्र होइन सामाजिक सन्देश पनि पुर्याउने उद्देश्य राखेको निर्माण टिमले जानकारी दिएको छ ।
’रुनु न हांस्नु’ सिरिजको निर्माण, लेखन, र निर्देशन शंकर आचार्यले गरेका हुन्। शंकर आचार्य नेपाली चलचित्र क्षेत्रका ख्यातिप्राप्त अभिनेता तथा निर्देशक हुन्।
उनले २०३४ सालदेखि काभ्रेपलाञ्चोकको सानो स्टेजबाट कलाकारिता यात्रा सुरु गरेका थिए। उनले दुई दर्जन भन्दा धेरै चलचित्रहरूमा अभिनय गरेका छन् भने थुप्रै टेलिचलचित्रमा समेत देखिएका छन्।
आचार्य नेपाली चलचित्र र सिरियल उद्योगमा आफ्नो अभिनयद्वारा नेपाली दर्शकको मन जित्ने लोकप्रिय कलाकार हुन् ।उनले सिरिज, सिरियल, र चलचित्रहरूमा गरेको अभिनयले दर्शकको मन जितेको छ ।
उनको नयाँ सिरिज “रुनु न हाँस्नु“ ले पनि दर्शक धेरै माया पाउने विश्वास गरिएको छ । यो सिरिजले कतिको दर्शकको मन जित्ला त्यो भने हेर्न बाँकी नै छ ।




