
शर्माले व्यक्तिकेन्द्रित आकस्मिक योजनाभन्दा पनि वस्तुगत बहस र विस्तृत पुष्ट्याइँसहितको सामूहिक योजनामा जोड दिएका छन् । उनले सेना समस्त नेपाली जनताको आड र भरोसाको धरोहर रहेकोसमेत उल्लेख गरेका छन् । शर्माले नेपाली सेनाले अनुसरण गर्दै आएको सैनिक मूल्य–मान्यतालाई अक्षुण्ण राख्दै एक भरोसादार एवं प्रभावकारी संगठनका रूपमा स्थापित गराउनुपर्ने बताए । उनले भावी नेतृत्वलाई समेत आफूलाई जस्तै साथ–सहयोग गर्न अनुरोध गरे ।
शर्माले बलाधिकृत रथी अशोकराज सिग्देल युद्धकार्य, विभागका निमित्त विभागीय प्रमुखलगायत रथीवृन्द तथा अधिकृतहरूलाई साथमा राखेर सम्बोधन गरेका थिए । पृतनापतिहरूले प्रधानसेनापतिसमक्ष विद्यमान विपत् प्रतिकार्यमा फौजको परिचालनलगायत समसामयिक विषयमा प्रस्तुतीकरणमार्फत संक्षिप्त जानकारी गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।




