
धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले प्रहरी नायव निरीक्षक (प्रनानि) दीपक कटुवाललाई २०८३ साल असोज महिनाको ‘उत्कृष्ट प्रहरी’ (Police of the Month) घोषणा गरेको छ।
प्रहरी चौकी हिले, धनकुटामा कार्यरत कटुवालले लागूऔषध नियन्त्रण, शान्ति सुरक्षा कायम तथा प्रहरी कार्यालयको भौतिक पूर्वाधार सुधारमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उनलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हो।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार कटुवालले २०८३ असोज १ गते राति धनकुटा नगरपालिका–१ हिलेस्थित होटल माउन्टेन एण्ड लजमा लागूऔषध कारोबार भइरहेको विशेष सूचना पाएपछि परिचालित भई तीन जनालाई पक्राउ गरेका थिए। पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–२ का ३७ वर्षीय मनिष अधिकारी, वडा नं. १ का ३१ वर्षीय अजय साह र भोजपुर नगरपालिका–७ का ३८ वर्षीय सन्तोष खड्का रहेका छन्। उनीहरूको साथबाट प्लास्टिकबाहेक ३ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो।
त्यसैगरी, असोज १७ गते राति धनकुटा नगरपालिका–१ तोड्वा चोकस्थित कोशी राजमार्गमा शङ्कास्पद अवस्थामा फेला परेका धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ निवासी २७ वर्षीय शान्तिराम थापालाई कानुनबमोजिम चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकबाहेक ५४० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो।
लागूऔषध नियन्त्रणसँगै कटुवालले स्थानीय सर्वसाधारणसँग समन्वय र सहकार्य गरी प्रहरी कार्यालयको सवारी साधनमा १० हजार रुपैयाँ बराबरको हुट कभर जडान गराएका थिए।
त्यस्तै, हिले ब्याडमिन्टन क्लब तथा स्थानीय व्यवसायीहरूको पहल, समन्वय र आर्थिक सहयोगमा प्रहरी कार्यालयको ब्यारेक भवनको माथिल्लो तलामा बार, सिलिङ तथा भुइँ ढलान गर्नुका साथै शौचालय र बाथरुमको मर्मतसम्भार गराएका थिए। उक्त पूर्वाधार सुधारमा करिब एक लाख रुपैयाँ खर्च भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै लागूऔषध नियन्त्रण, स्थानीय समुदायसँगको सहकार्य र प्रहरी कार्यालयको भौतिक पूर्वाधार सुधारमा योगदान पुर्याएको मूल्याङ्कन गर्दै उनलाई असोज महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नारायण रञ्जितकारले जनाएका छन्।





