
इलाम । इलामको सूर्योदय नगरपालिका–४ ठुलो सिर्बुङस्थित जंगलबाट प्रहरीले ५५२ किलो फर्सीको बियाँ बरामद गरेको छ।
बुधबार राति करिब ११ बजेको समयमा इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरी टोलीले जंगलमा लुकाएर राखिएको अवस्थामा फर्सीको बियाँ भरिएका २० वटा बोरा फेला पारेको हो।

प्रहरीले बरामद गरेको फर्सीको बियाँ इलाका प्रहरी कार्यालय पशुपतिनगरमा ल्याई तौल गर्दा जम्मा ५५२ किलो रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
बरामद फर्सीको बियाँ आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पशुपतिनगर, इलाममा बुझाइएको प्रहरीले जनाएको छ।
जंगलमा फर्सीको बियाँ लुकाएर राख्ने व्यक्तिको पहिचान तथा खोजी भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।




