
काठमाडौं, ७ असोज। बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गर्दै लागुऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, बहराइच जिल्ला, रुपैडिहा थाना चकिया रोडका २४ वर्षीय नदीम राई रहेका छन्।

असोज ६ गते राति करिब १०ः४५ बजे ब्युरोको नेपालगञ्ज शाखाबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१४ मा भारतबाट मोटरसाइकलमा नेपाल प्रवेश गर्दै गरेका राईलाई रोक्न खोजेको थियो।
प्रहरीका अनुसार रोक्न संकेत गर्दा पनि उनी नरोकी मोटरसाइकलसहित भाग्न खोजेपछि प्रहरीले चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गरेको थियो। त्यसपछि पनि भाग्ने प्रयास जारी राखेपछि मोटरसाइकलको टायरलाई लक्षित गरी थप दुई राउन्ड गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका राईको साथबाट प्रहरीले १०३ ग्राम ७१० मिलिग्राम खैरो हेरोइन, भारतीय नम्बर प्लेटको मोटरसाइकल र एक थान मोबाइल बरामद गरेको छ।
प्रहरीले बरामद लागुऔषध तथा अन्य सामग्रीसहित राईलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।




