बुटवल । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलमा कार्यरत प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारी भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित भएका छन्।

प्रहरी सेवामा जिम्मेवारीप्रति प्रतिबद्धता, अनुशासन, कार्यसम्पादन तथा व्यावसायिक दक्षतालाई मूल्याङ्कन गर्दै भण्डारीलाई भदौ महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको हो।

उत्कृष्ट प्रहरी घोषित भण्डारीलाई मंगलबार लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) भूपेन्द्रबहादुर खत्रीले सम्मान गरेका हुन्। डीआईजी खत्रीले भण्डारीलाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गर्दै सम्मान गरे।

सम्मान कार्यक्रममा डीआईजी खत्रीले उत्कृष्ट प्रहरीका रूपमा छनोट भएकोमा प्रहरी निरीक्षक भण्डारीलाई बधाई दिँदै आगामी दिनमा समेत जिम्मेवारीलाई थप प्रभावकारी, अनुशासित र परिणाममुखी ढंगले निर्वाह गर्न शुभकामना दिए।

उनले प्रहरी सेवामा उत्कृष्ट कार्यसम्पादनका लागि व्यक्तिगत जिम्मेवारीबोध, व्यावसायिक आचरण, अनुशासन र सेवाभाव महत्वपूर्ण हुने उल्लेख गर्दै भण्डारीको कार्यसम्पादनबाट अन्य प्रहरी कर्मचारीले समेत प्रेरणा लिनुपर्ने बताए।

डीआईजी खत्रीले कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीलाई पछिल्लो समय प्रहरी संगठनले सामना गरिरहेका समसामयिक चुनौती, बदलिँदो सुरक्षा अवस्था तथा प्रहरीको कार्यशैलीबारे आफ्ना अनुभवबाट सिक्न आग्रह गरे। प्रहरी सेवा जनताको विश्वाससँग प्रत्यक्ष जोडिएको भन्दै उनले हरेक प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए।

उनले प्रहरी कर्मचारीलाई अनुशासित, इमानदार, निडर र व्यावसायिक भएर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिँदै कार्यसम्पादनमा निरन्तर सुधार गर्दै संगठनको गरिमा र जनविश्वास कायम राख्न आग्रह गरे।

प्रहरी निरीक्षक भण्डारी प्रहरी सेवामा जिम्मेवारीप्रति गम्भीर, अनुशासित र कार्यसम्पादनमा अब्बल अधिकृतका रूपमा चिनिन्छन्। तालिम केन्द्रमा समेत उनले आफ्नो जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्दै प्रहरी जनशक्तिको व्यावसायिक क्षमता विकास, अनुशासन र प्रशिक्षणसम्बन्धी कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

प्रहरी संगठनभित्र व्यावसायिक दक्षता, नेतृत्व क्षमता र जिम्मेवारीप्रतिको प्रतिबद्धताका लागि परिचित भण्डारीलाई उत्कृष्ट प्रहरीका रूपमा गरिएको सम्मानले उनको कार्यसम्पादनलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

प्रहरी कर्मचारीको मनोबल अभिवृद्धि, उत्कृष्ट कार्यसम्पादनको प्रोत्साहन तथा जिम्मेवारीप्रति थप उत्तरदायी बनाउन प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट प्रहरी छनोट तथा सम्मान गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय