काठमाडौं । भोटेकोशी नदीको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान गरिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गठित समितिले अध्ययन गरी सम्भावित पुनःस्थापना क्षेत्र सिफारिससहितको प्रतिवेदन मन्त्रालयमा बुझाएको हो।

समितिले पुनःस्थापनाका लागि तीन जिल्लामा कुल २७७ कित्ता जग्गा पहिचान गरेको छ। तीमध्ये रसुवामा १७७, नुवाकोटमा ९४ र धादिङमा ६ कित्ता रहेका छन्।
समितिले पहिचान गरेका सम्भावित क्षेत्र तथा जग्गाको अध्ययनका आधारमा बाढी प्रभावित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्ने प्रक्रिया अघि बढाइनेछ।




