काठमाडौं । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी इजरायल पठाइदिने भन्दै २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार पक्राउ पर्नेमा रामेछाप सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरत चौलागाई र दोलखा कालिन्चोक गाउँपालिका–८ की ३२ वर्षीया बालिका सिवाकोटी रहेका छन्।

नेपाल सरकार र इजरायल सरकारबीच भएको Government to Government (G to G) सम्झौताअनुसार केयरगिभरका लागि नेपालबाट इजरायल पठाउन सन् २०२४ मा परीक्षा सञ्चालन गरिएको थियो। उक्त परीक्षामा सहभागी भई ‘लक्की ड्र’मा छनोट हुन नसकेका १५६ जनालाई इजरायल पठाइदिने भन्दै चौलागाई, सिवाकोटीलगायत व्यक्तिहरूले विश्वास दिलाएको सीआईबीले जनाएको छ।

उनीहरूले प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदसमेत दुरुपयोग गरी प्रति व्यक्ति ६ लाख २० हजार रुपैयाँका दरले रकम उठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

पीडितहरूबाट कुल २ करोड ५० लाख रुपैयाँ लिएर बेइमानीपूर्वक ठगी गरेको भन्दै कानुनी कारबाहीका लागि जाहेरी परेपछि उनीहरूलाई २०८३ असोज १ गते पक्राउ गरिएको हो।

पक्राउ परेका दुवै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२१ अन्तर्गत ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट कानुनबमोजिम म्याद थप अनुमति लिइएको सीआईबीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय