काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरोले ५१ ग्रामभन्दा बढी खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।

ब्युरोको कोटेश्वरस्थित शाखाबाट खटिएको टोली र इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेको संयुक्त टोलीले बाँकेको कोहलपुर नगरपालिका–१० बाट प्रिन्स शाहीसहित दुई जनालाई पक्राउ गरेको हो। उनीहरूको साथबाट १०.०८ ग्राम खैरो हेरोइन बरामद गरिएको ब्युरोले जनाएको छ।

पक्राउ परेकामाथि अनुसन्धान गर्दै जाँदा लागूऔषध कारोबारमा संलग्न थप एक जनालाई नेपालगञ्ज उपमहानगरपालिका–३ बाट पक्राउ गरिएको थियो। उनको साथबाट ४०.७६ ग्राम खैरो हेरोइन बरामद भएको छ।

ब्युरेका अनुसार पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर–३ का १९ वर्षीय प्रिन्स शाही, बाँकेको राप्तीसोनारी गाउँपालिका–३ का २८ वर्षीय लाहरुम थारु र नेपालगञ्ज उपमहानगरपालिका–३ का ३५ वर्षीय मोहम्मद रहिम अन्सारी रहेका छन्।

उनीहरूको साथबाट लागूऔषध खैरो हेरोइन ५१.५४० ग्राम, डिजिटल तराजु १ थान, नेपाली रुपैयाँ ९९ हजार, भारतीय रुपैयाँ १४ हजार तथा दुई थान मोटरसाइकल बरामद गरिएको ब्युरोले जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा बुझाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय