
काठमाडौं । सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिनुपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सरकारले सम्बन्धित सबै निकायलाई निर्देशन दिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छुट्टाछुट्टै रूपमा सम्बन्धित निकायलाई पत्राचार गर्दै सरुवा भएका कर्मचारीलाई नियमानुसार रमाना दिन आग्रह गरेका हुन्।

मन्त्रालयले आज जारी गरेको परिपत्रमा निजामती सेवा नियमावलीअनुसार सरुवा भएको कर्मचारीलाई तोकिएको अवधिभित्र रमाना दिनुपर्ने स्पष्ट पारेको छ। सरुवा भएपछि पनि कर्मचारीलाई साविककै कार्यालयमा राखेर तलबभत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो।
परिपत्रमा सरुवा भएका कर्मचारीलाई तोकिएको म्यादभित्र रमाना नदिई साविककै कार्यालयबाट तलबभत्ता भुक्तानी गरिएमा रमाना दिनुपर्ने म्यादभन्दा बढी अवधिको भुक्तानी भएको तलबभत्ता सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुलउपर गरिने उल्लेख छ।
मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई सरुवा भएका कर्मचारीको हकमा प्रचलित कानुनअनुसार प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ।
सरुवा आदेश कार्यान्वयनमा ढिलाइ गर्ने तथा कर्मचारीलाई साविककै कार्यालयमा राखिराख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आर्थिक दायित्वसमेत कार्यालय प्रमुख र लेखा प्रमुखमाथि पर्ने व्यवस्था स्मरण गराइएको हो।
मन्त्रालयले सरुवा भएका कर्मचारीलाई समयमै रमाना दिने तथा नयाँ कार्यालयमा हाजिर हुने वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।




