
गुल्मी । गुल्मीमा ‘खुकुरी’ चुरोटको नाम र स्वरूपसँग मिल्दोजुल्दो नक्कली चुरोट बरामद भएको छ । प्रहरीले रुरुक्षेत्र गाउँपालिका–४ बलेट्क्सारबाट नक्कली चुरोटसहित एक जनालाई पक्राउ गरेको हो ।
नक्कली चुरोट बिक्री–वितरण भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको नेतृत्वमा खटिएको टोलीले लु.प्र.०१–००१ च ४६३० नम्बरको भ्यान रोकेर खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा भ्यानबाट ‘खुकुरी’ चुरोटजस्तो देखिने १४० बट्टा नक्कली चुरोट फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले भ्यान चालक प्युठानको झिमरुक गाउँपालिका–३ का ४० वर्षीय गोपाल परियारलाई नियन्त्रणमा लिएको छ ।
बरामद नक्कली चुरोट, भ्यान तथा पक्राउ परेका परियारलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय बुटवल पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिए ।




