धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको सेफ फुटाई त्यसमा रहेको नगद चोरी गरेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रहरीले ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले नगद राखिएको सेफ बगाएर ल्याएको थियो। उक्त सेफ धादिङको गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला परेको थियो।

सेफ भेटिएपछि स्थानीय केही व्यक्तिहरूले त्यसलाई तोडफोड गरी भित्र रहेको नगद रकम निकालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे शुक्रबार जानकारी पाएलगत्तै प्रहरी टोली परिचालन गरी अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरूको साथबाट ठूलो परिमाणमा नगद रकम फेला परेको हो।

पक्राउ पर्ने अधिकांश गल्छी गाउँपालिका–४ र ६ का स्थानीय रहेको प्रहरीले जनाएको छ। त्यस्तै, सिद्धलेक गाउँपालिकाका साथै चितवन र पर्सा घर भई हाल गल्छीको आदमघाट क्षेत्रमा बसोबास गर्दै आएका व्यक्तिहरूसमेत पक्राउ परेका छन्।

प्रहरीका अनुसार बरामद रकमको वास्तविक स्रोत, सेफ कसको हो भन्ने विषय तथा घटनामा अन्य व्यक्तिहरूको संलग्नता भए–नभएकोबारे अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रकाश दाहालले पक्राउ परेका व्यक्तिहरू र बरामद रकमबारे थप अनुसन्धान जारी रहेको जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय