
काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको भद्रपुर–९ घर भई हाल कीर्तिपुरमा बस्दै आएका २३ वर्षीय पुस्कर दहाल रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई कीर्तिपुरको नयाँ बजारबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार दहालले इन्स्टाग्राममा प्रधानमन्त्री शाहलाई लक्षित गर्दै धम्कीपूर्ण सामग्री पोस्ट गरेका थिए। उक्त पोस्टमा उनले प्रधानमन्त्री शाहलाई निश्चित मितिमा ‘सिध्याइदिने’ आशयको अभिव्यक्ति दिँदै प्रहरीलाई समेत ट्याग गरेका थिए।
पक्राउ परेका दहाललाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि साइबर ब्यूरो, भोटाहिटी पठाइएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार दहाल कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग आबद्ध रहेको खुलेको छ। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको धम्कीपूर्ण सामग्रीको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




