
रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित २५ जनालाई नेपाली सेनाले उद्धार गरेको छ। सेनाका अनुसार टिमुरे, स्याफ्रु र नुवाकोटको त्रिशूली क्षेत्रबाट उनीहरूको उद्धार गरिएको हो।
सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार र प्रतिकार्यका लागि नेपाली सेनाका ६ तथा निजी क्षेत्रका ८ गरी १४ वटा हेलिकप्टर परिचालन गरिएको छ। ती हेलिकप्टरमार्फत आवश्यकताअनुसार प्रभावित तथा घाइतेको उद्धारसँगै राहत सामग्री पुर्याउने काम भइरहेको छ।

बाढीबाट प्रभावित तथा घाइतेको उपचारका लागि सेनाले दुई जना सर्जनसहित २० सदस्यीय विशेषज्ञ चिकित्सक टोली पनि परिचालन गरेको छ। उक्त टोलीलाई नुवाकोटको त्रिशूलीस्थित मैथली ब्यारेकमा तैनाथ गरिएको सेनाले जनाएको छ।
त्रिशूली अस्पतालसँगको सडक सम्पर्क अवरुद्ध भएपछि प्रभावितलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ब्यारेकमै चिकित्सकीय सेवा सञ्चालन गरिएको हो।
सेनाले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा स्वास्थ्य सेवाका लागि आवश्यक जनशक्ति र स्रोतसाधन परिचालन गरी प्रतिकार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।




