
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने जोखिमयुक्त क्षेत्रमा निश्चित समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ।
कोशी प्रदेशअन्तर्गत मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित राजदुवालीमा वर्षाका कारण सडक अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक मार्गबाट आवागमनको व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

बागमती प्रदेशमा जोखिमलाई ध्यानमा राख्दै विभिन्न सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। वी.पी. राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म तथा मकवानपुरको कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन निषेध गरिएको छ।
यस्तै, रसुवाको उत्तरगया–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैजुङ–स्याफ्रुबेंसी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि राति १० बजेदेखि बिहान ५ बजेसम्म आवागमनमा रोक लगाइएको छ।
कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित रिजेगाड खोलामा आएको बाढीले जाजरकोट–डोल्पा सडकखण्ड समेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्रहरीले वर्षायाममा सडकको अवस्था जुनसुकै बेला बिग्रन सक्ने भएकाले लामो दूरीको यात्रा गर्नुअघि सम्बन्धित प्रहरी कार्यालयबाट सडकको अवस्थाबारे जानकारी लिन यात्रु तथा चालकलाई आग्रह गरेको छ।




