९ भदौ, सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–२ गमहरियामा सर्पदंशका कारण ११ वर्षीय बालक प्रियांसु भगतको मृत्यु भएको छ। सँगै सर्पदंशमा परेका उनका ८ वर्षीय भाइ दिव्यांशु भगत भने उपचारपछि घर फर्किएका छन्।

भदौ ३ गते राति घरमा सुतिरहेका बेला दाजुभाइलाई सर्पले डसेको थियो। परिवारका अनुसार प्रियांसुको कानमा र दिव्यांशुको खुट्टामा सर्पले डसेको थियो।

घटनापछि दुवैलाई तत्काल लहानस्थित रामकुमार–शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि विराटनगर रेफर गरिएको थियो।

विराटनगरमा उपचारका क्रममा प्रियांसुको अवस्था गम्भीर बन्दै गएपछि सोमबार साँझ करिब ६ बजे उनको मृत्यु भएको परिवारले जनाएको छ। दिव्यांशुको स्वास्थ्यमा भने सुधार आएपछि उनलाई सोमबार नै घर ल्याइएको छ।

परिवारको आर्थिक अवस्था कमजोर रहेकाले प्रियांसुको उपचारका लागि स्थानीयस्तरदेखि सामाजिक सञ्जालसम्म आर्थिक सहयोग जुटाउने अभियानसमेत सञ्चालन गरिएको थियो।

प्रियांसु भगवानपुरस्थित बालासुन्दरी माध्यमिक विद्यालयमा कक्षा ८ र दिव्यांशु कक्षा ४ मा अध्ययनरत थिए। उनीहरूका बुवा अशोक भगत रोजगारीका लागि भारतको दिल्लीमा रहेका बेला छोराहरूलाई सर्पले डसेको खबर पाएपछि भदौ ४ गते घर फर्किएका थिए।

घटनापछि स्थानीयवासीले सिरहाका स्वास्थ्य संस्थामा सर्पदंशको उपचार प्रभावकारी बनाउन पर्याप्त एन्टिस्नेक भेनम र आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय