
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशका पहाडी तथा तराई भूभागमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी सूचना अद्यावधिक राख्न विभागले अनुरोध गरेको छ।




