काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले देशको कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै सरकार र सम्बन्धित संयन्त्रमाथि प्रश्न उठाएका छन् ।

 

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद राईले अपराधीहरूमा कानुनको डर हराउँदै गएको टिप्पणी गरे । उनले नेपालको अवस्थालाई बिग्रिएको गाडी र त्यसलाई चलाउन नसक्ने चालकसँग तुलना गर्दै कानुनभन्दा पनि त्यसको कार्यान्वयन गर्ने पक्षमाथि प्रश्न गरेका हुन् ।

 

‘हाम्रो देशको कानुन कमजोर कि कानुन चलाउने मान्छे ? गाडी बिग्रेको हो कि गाडी चलाउने मान्छेले चलाउन नजानेको ?’ उनले प्रश्न गरे ।

 

राईले भ्रष्टाचार नियन्त्रण र सुशासनका विषयमा पनि सरकारको आलोचना गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तले स्विस बैंकमा नेपाली भ्रष्ट नेताहरूको ठूलो रकम रहेको अभिव्यक्ति दिएको प्रसङ्ग उल्लेख गर्दै उनले विदेशमा रहेको भनिएको भ्रष्टाचारको रकम फिर्ता ल्याउन नसक्नु राज्यको कमजोरी भएको बताए ।

 

‘हामी स्विस बैंकमा रहेको भ्रष्टाचारको पैसा फिर्ता ल्याउन सक्दैनौँ,’ उनले भने, ‘यस्तो निरीहताले सुशासनको गफ व्यर्थ साबित भएको छ ।’

 

सांसद राईले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याउनसमेत कठिनाइ हुने अवस्था रहेको भन्दै सरकारप्रति असन्तुष्टि जनाए । विदेशमा नेपाली नागरिकको मृत्यु हुँदा समेत शव नेपाल ल्याउन नसक्ने अवस्थाले राज्यको क्षमता र जिम्मेवारीमाथि प्रश्न उठाएको उनको भनाइ थियो ।

 

त्यसैगरी, नाबालिकामाथि हुने बलात्कार तथा हत्याजस्ता गम्भीर अपराधप्रति उनले चिन्ता व्यक्त गरे । अपराधीहरू कानुनसँग नडराउने अवस्था सिर्जना भएकाले यस्ता घटना नियन्त्रण गर्न कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको राईले बताए ।

 

उनले बलात्कारका घटनामा दोषी प्रमाणित भएकालाई कडा सजायको व्यवस्था हुनुपर्नेमा जोड दिँदै कानुनको डर स्थापित नभएसम्म जघन्य अपराध नियन्त्रण गर्न कठिन हुने धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय