
काठमाडौँ । चीनसँगको उत्तरी सीमा जोडिएको कोरला नाका हुँदै नेपाल भित्रिएका आठ कन्टेनरमध्ये छवटालाई राजस्व अनुसन्धान विभागले अनुसन्धानपछि छाडेको छ । मुस्ताङको सदरमुकाम जोमसोमबाट साउन ३० गते प्रहरीले शङ्कास्पद भन्दै ती कन्टेनर नियन्त्रणमा लिएर विभागमा पठाएको थियो ।

राजस्व अनुसन्धान विभागका निमित्त महानिर्देशक नरेन्द्रप्रकाश पाण्डेयका अनुसार भन्सार जाँचपास तथा प्रमाणीकरणका कागजात ठीक देखिएपछि छवटा कन्टेनर सम्बन्धित आयातकर्ताको जिम्मा लगाइएको हो ।
प्रहरीले नियन्त्रणमा लिएका कन्टेनरमा रोल कपडा, प्लास्टिकका भाँडाकुँडा तथा पासिङ मेसिनका कभरलगायत सामग्री भेटिएको विभागले जनाएको छ । दुईवटा कन्टेनरमा ‘ड्रेस मेकिङ फेब्रिक’ आयात गरिएको र त्यसका लागि आयातकर्ताले ६७ लाख रुपैयाँ भन्सार बुझाएको कागजात पेस गरेका थिए ।
त्यस्तै, प्लास्टिकका सामान आयात गरिएको एउटा कन्टेनरका लागि ३६ लाख रुपैयाँ भन्सार बुझाएको भेटिएको पाण्डेयले बताए ।
उनका अनुसार बाँकी दुई कन्टेनर भने अझै अनुसन्धानकै क्रममा छन् । विभागका अनुसन्धान अधिकृतहरूले ती कन्टेनरमा रहेका सामान तथा प्रज्ञापनपत्र जाँच गरिरहेका छन् । तीमध्येका सामान बेसमार्क इन्टरनेसनल, मार्फा र काइजेन इन्टरनेसनलले आयात गरेको जनाइएको छ ।
प्रहरीले विभागमा पठाएका आठ कन्टेनरमा बा.प्र.०१–००५ ख २२४५, बा.प्र.०१–००६ ख ६२७३, ना.३ ख ७१६०, ना.६ ख ४७४१, को.१ ख ५६९६, बा.प्र.०१–००६ ख २२४८, ना.६ ख २०२२ र बा.प्र.०१–००६ ख ६६११ नम्बरका कन्टेनर रहेका थिए ।
नेपाल–चीन उत्तरी कोरला नाका गत वर्ष भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएपछि नाकाबाट हुने अवैध आयात तथा ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी बढाउँदै आएका छन् ।
यसअघि आर्थिक वर्ष २०८२/८३ को पुस ९ गते कोरला नाकाबाट भित्र्याइएको करिब दुई करोड २४ लाख रुपैयाँ मूल्य बराबरको अवैध विद्युतीय चुरोट (भेप) बरामद गरिएको थियो । त्यस्तै, सोही आर्थिक वर्षको जेठ २ गते लुकाएर ल्याइएका २० हजार थान विद्युतीय चुरोटसमेत सुरक्षा निकायले नियन्त्रणमा लिएको थियो ।




