काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले बलात्कार र भ्रष्टाचारजस्ता गम्भीर अपराधमा संलग्न व्यक्ति प्रमाणित भए कठोर कानुनी कारबाही गर्ने व्यवस्था तत्काल लागू गर्न सरकारसँग माग गरेका छन्।

 

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुनारले पछिल्ला वर्षहरूमा भएका बलात्कार तथा हत्या घटनाको स्मरण गराउँदै राज्यले नागरिकको सुरक्षा र महिलाको सम्मान सुनिश्चित गर्न प्रभावकारी कदम चाल्नुपर्ने बताए।

 

उनले बझाङकी सम्झना कामी, कञ्चनपुरकी निर्मला पन्त, कैलालीकी माया कामी, रुपन्देहीकी अङ्गिरा पासी, खोटाङकी रेस्मिका परियार, म्याग्दीकी मिना परियारलगायतका घटनाको उल्लेख गर्दै हालै बाराकी गरिमा चौधरीको घटनासमेत गम्भीर विषय भएको बताए।

 

सांसद सुनारले यस्ता घटनाको सूची प्रस्तुत गरेर मात्र राज्यको दायित्व पूरा नहुने भन्दै पीडितले न्याय पाउने र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने गरी कानुनी तथा सुरक्षा संयन्त्र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

 

उनले भने, ‘बलात्कारी र भ्रष्टाचारी प्रमाणित भएको खण्डमा अन द स्पट ठोक्ने कानुनको व्यवस्था तत्काल लागू गर्न आह्वान गर्दछु।’

सुनारले महिलाले सुरक्षित रूपमा बाँच्न पाउने वातावरण निर्माण गर्नु सरकारको प्रमुख जिम्मेवारी भएको बताए। बलात्कार र भ्रष्टाचारजस्ता गम्भीर अपराधमा कुनै पनि प्रकारको सम्झौता गर्न नहुने उनको धारणा थियो।

 

उनले गरिमा चौधरीलगायतका पीडित परिवारले न्याय पाउनुपर्ने र राज्यले अपराध नियन्त्रण तथा दोषीलाई कानुनी दायरामा ल्याउने विषयमा थप प्रभावकारी कदम चाल्नुपर्ने मागसमेत गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय