
काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंको घरमा भएको खानतलासीका क्रममा बरामद सामग्रीसहित अदालतमा उपस्थित हुन सर्वोच्च अदालतले विपक्षीका नाममा आदेश जारी गरेको छ।
सोमबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्रसाईंले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै भदौ ४ गते उनको घरमा गरिएको खानतलासीका क्रममा बरामद सामग्रीसमेत लिएर उपस्थित हुन आदेश दिएको हो।

सर्वोच्चले प्रसाईंलाई घरबाहिर आवतजावत गर्न नदिएको विषयमा समेत कारण खुलाउन विपक्षीलाई निर्देशन दिएको छ। अदालतले उक्त आदेश जारी गर्नुपर्ने आधार र कारणसहित २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनेको छ।
साथै, भदौ ४ गते जारी गरिएको खानतलासी पूर्जीअनुसार प्रसाईंको घर खानतलासी गर्दा बरामद भएका भनिएका सामग्रीसमेत पेसीका दिन लिएर आउन जिल्ला प्रहरी परिसर भक्तपुरलाई सर्वोच्चले आदेश दिएको छ।
सर्वोच्चको आदेशमा भनिएको छ, ‘…आदेश जारी हुन नपर्ने भए सोको आधार र कारण खुलाई यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू,’
आदेशमा थप भनिएको छ, ‘साथै, निवेदनसाथ संलग्न मिति ०८३ भदौ ४ गतेको खानतलासी पूर्जीमोजिम निवेदक दुर्गा प्रसाईंको घर खानतलासी हुँदा बरामद भएका भनिएका सामान समेत पेसीको दिन लिई आउनू भनी विपक्षी जिल्ला प्रहरी परिसर भक्तपुरलाई लेखी पठाउनू ।’
सर्वोच्चको आदेशसँगै प्रसाईंको घरमा भएको खानतलासी, बरामद सामग्री तथा उनलाई घरबाहिर हिँडडुल गर्न रोक लगाइएको विषयमा सम्बन्धित निकायबाट लिखित जवाफ पेस गर्नुपर्ने भएको छ।




