बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले थप एक किशोरलाई पक्राउ गरेको छ।

 

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टका अनुसार जितपुरसिमरा–२ का कक्षा ९ मा अध्ययनरत १४ वर्षीय प्रदीप खड्कालाई आइतबार साँझ पक्राउ गरिएको हो।

 

प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

 

यसअघि पक्राउ परेका सुमन थापाले दिएको बयानका आधारमा खड्काको समेत घटनामा संलग्नता रहेको आशंका भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ।

 

खड्काको पक्राउसँगै गरिमा हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ। गरिमाको परिवारले पूरक जाहेरी दिएपछि प्रहरीले शनिबार थप पाँच जनालाई नियन्त्रणमा लिएको थियो।

 

यसअघि गरिमाको शव भेटिएपछि प्रहरीले सुमन थापा र प्रोग्रेस चौधरीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा घटनासँग सम्बन्धित थप व्यक्तिहरू पक्राउ परेका हुन्।

 

प्रहरीले पक्राउ परेका अन्य व्यक्तिहरूको पहिचान भने अनुसन्धान प्रभावित हुन सक्ने भन्दै सार्वजनिक गरेको छैन। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय