
पर्सा । पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या उल्लेख्य रूपमा बढेपछि संरक्षण व्यवस्थापनलाई थप प्रभावकारी र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन सिए टिएस (CA|TS) प्रमाणीकरण प्रक्रिया अघि बढाइएको छ।

सन् २०२२ मा ४१ वटा वयस्क बाघ रहेको पर्सामा सन् २०२६ को गणनामा यो सङ्ख्या बढेर ७१ पुगेको छ। बाघको सङ्ख्या बढेसँगै यसको दीर्घकालीन संरक्षण, बासस्थान व्यवस्थापन र मानव–बाघ सहअस्तित्वलाई प्राथमिकतामा राख्दै प्रमाणीकरण प्रक्रिया थालिएको हो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा भएको कार्यशालामा स्वमूल्याङ्कन, व्यवस्थापन सुधार, आवश्यक प्रमाण सङ्कलन र सरोकारवालाबीच समन्वयका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बाघको सङ्ख्या वृद्धि मात्रै संरक्षणको सफलता नभएको भन्दै बासस्थान, आहारा, सुरक्षा र व्यवस्थापन प्रणालीलाई पनि निरन्तर सुधार गर्नुपर्ने बताए।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बाघको सङ्ख्या ४१ बाट ७१ पुग्नु सकारात्मक उपलब्धि भए पनि अब मानव–बाघ द्वन्द्व न्यूनीकरण र स्थानीय समुदायको सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए।
उनका अनुसार ‘बाघ मित्र अभियान’लाई सिए टिएस प्रक्रियासँग जोडेर समुदायको सहभागिता, सचेतना र मानव–बाघ सहअस्तित्वलाई थप प्रभावकारी बनाइनेछ।
सिए टिएस प्रक्रियाअन्तर्गत बाघको बासस्थान, आहारा, चोरी–सिकार नियन्त्रण, वैज्ञानिक अनुगमन, मानव–बाघ द्वन्द्व व्यवस्थापन तथा स्थानीय समुदायको सहभागितालगायत पक्षको मूल्याङ्कन गरिनेछ।
प्रमाणीकरण प्रक्रिया सफल भए पर्सा राष्ट्रिय निकुञ्जको बाघ संरक्षण व्यवस्थापन अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बन्ने अपेक्षा गरिएको छ।




