
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारका मन्त्रीहरू फेरबदल हुने चर्चा निराधार रहेको बताएका छन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार भएको अनौपचारिक छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले मन्त्रीहरूको कामबारे पार्टीभित्र समीक्षा र छलफल भए पनि त्यसलाई फेरबदलसँग जोड्न नहुने स्पष्ट पारे।

उनले सरकारका मन्त्रीले धेरै राम्रा काम गरिरहेको अवस्थामा केही विषयमा प्रश्न उठ्नु स्वाभाविक भएको बताए। पार्टीभित्रै पनि मन्त्रीहरूको कामबारे प्रश्न उठाउने र सामूहिक रूपमा छलफल गर्ने गरिएको उनको भनाइ छ।
लामिछानेले मन्त्रीहरूबीच कुनै मतभेद नरहेको दाबी गर्दै अहिले सरकारमा रहेका मन्त्रीहरू परिवर्तन गर्ने पक्षमा आफूहरू नरहेको स्पष्ट पारे।
उनले आफूहरूबीच दूरी बढेको वा विवाद रहेको आशयका समाचारहरू प्रकाशित हुने गरेको भन्दै त्यसले उल्टै आफूहरूलाई थप नजिक ल्याउने टिप्पणी गरे।
“दुई जनाबीच धार नै अलग छ कि क्या हो भनेर समाचार लेख्नुहुन्छ। यस्ता समाचारले हामीलाई अझ नजिक ल्याउन मद्दत गर्छ,” उनले भने।




