ललितपुर । ललिपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा औषधि फिर्ता गर्ने विषयलाई लिएर सेवाग्राही र अस्पतालको सुरक्षामा खटिएका सादा पोशाकका प्रहरीबीच भनाभन भएको छ।

केही समयअघि औषधि फिर्ता गर्न अस्पताल पुगेका सेवाग्राही र फार्मेसी काउन्टरका कर्मचारीबीच विवाद भएपछि अवस्था बुझ्न सातदोबाटो प्रहरी बिट मातहतका असई कृष्ण न्यौपाने पुगेका थिए। सादा पोशाकमा रहेका न्यौपाने र सेवाग्राहीबीच समेत त्यसक्रममा भनाभन भएको बताइएको छ।

स्रोतका अनुसार विवादका क्रममा सेवाग्राहीले असई न्यौपानेलाई ‘तँ गुण्डा होस्, मलाई तेरो हर्कत सबै थाहा छ’ भन्दै आक्रोश व्यक्त गरेका थिए। त्यसपछि उनी स्कुटर चढेर अस्पतालबाट बाहिरिएका थिए।

घटनापछि सेवाग्राहीले आफू अन्यायमा परेको भन्दै हाम्रो सम्पर्कमा समेत गुनासो गरेका छन्। उनका अनुसार आफू औषधि फिर्ता गर्न मात्रै अस्पताल पुगेको र अनावश्यक विवाद गर्ने आफ्नो उद्देश्य नरहेको थियो। तर, प्रहरीले आफूलाई ‘प्रहरी हुँ’ भन्दै थर्काएको उनको आरोप छ।

‘म औषधि फिर्ता गर्न गएको थिएँ। विषय फार्मेसीसँग सम्बन्धित थियो। प्रहरीले नै सेवाग्राहीलाई किन थर्काउने?’ भन्दै उनले गुनासो गरेका छन्।

यस विषयमा हामीले सातदोबाटो प्रहरी वृत्तका डिएसपीसँग जानकारी लिँदा उनले घटना सामान्य प्रकृतिको रहेको बताएका छन्। उनका अनुसार सेवाग्राहीले असई न्यौपानेलाई पहिलेबाटै चिनेको र विवादको विषय फार्मेसीसँग सम्बन्धित भए पनि अस्पतालको सुरक्षाका लागि खटिएका प्रहरी भएकाले हो-हल्ला भएपछि चासो लिनु स्वाभाविक भएको बताए।

प्रहरीका अनुसार बीएन्डबी अस्पतालको सुरक्षाका लागि सातदोबाटो प्रहरी बिटबाट असई न्यौपानेसहित एक हवल्दार खटिँदै आएका छन्। अस्पतालमा सुरक्षा व्यवस्थापनका क्रममा कुनै विवाद वा अन्य घटना भए त्यसमा प्रहरीको ध्यान जानु स्वाभाविक हुने प्रहरीको भनाइ छ।

सेवाग्राहीले फार्मेसी र प्रहरी दुवैको व्यवहार आफूलाई चित्त नबुझेको भन्दै गृहमन्त्रालयसम्म जाने चेतावनीसमेत दिएका छन्।

यद्यपि, घटनाको सुरुआती कारण र त्यसक्रममा दुवै पक्षबाट भएको व्यवहारबारे सेवाग्राही र प्रहरीको धारणा फरक देखिएको छ। विवादको विषय सामान्य भए पनि सेवाग्राही, अस्पतालका कर्मचारी र सुरक्षामा खटिएका प्रहरी सबै पक्षले संयमित र नम्र व्यवहार गर्नु आवश्यक देखिन्छ।

सेवा लिन अस्पताल पुगेका नागरिकलाई सहज वातावरण दिनु अस्पतालको दायित्व हो भने सुरक्षा कायम गर्ने क्रममा प्रहरीबाट पनि संयमित र मर्यादित व्यवहार अपेक्षित हुन्छ। त्यस्तै, सेवाग्राहीले पनि आफ्नो गुनासो राख्दा शान्त र सम्मानजनक ढंग अपनाउनु आवश्यक हुन्छ। सामान्य विषय अनावश्यक विवादमा परिणत नहोस् भन्नेतर्फ सबै पक्ष सचेत हुनुपर्ने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय