हेटौंडा, २ भदौ — मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा मंगलबार बिहान गाडी दुर्घटना हुँदा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित छ जना घाइते भएका छन्। घाइतेमध्ये एक महिलाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो बिहान करिब ७ बजे अनियन्त्रित भई सडकबाट ५० देखि ६० मिटर तल खोल्सामा खसेको थियो।
दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय भीमफेदी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्री तथा प्रहरी नायव उपरीक्षक माधव काफ्लेको नेतृत्वमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरेको थियो। घाइते चार पुरुष र दुई महिलालाई तत्काल प्राथमिक उपचारका लागि भीमफेदी अस्पताल पुर्‍याइएको छ।
गम्भीर घाइते महिलाबाहेक मुख्य न्यायाधीश डाँगीसहित अन्य पाँच जनाको अवस्था मध्यम रहेको र उनीहरूलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त सवारी घटनास्थलमै रहे पनि हेटौंडा-काठमाडौं सडकखण्डमा यातायात सञ्चालन सामान्य रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय